नेपाल रेडक्रस सोसाइटी कास्की लैङ्गिक तथा सामाजिक समावेशीकरण समिति कास्कीकाे आयोजना तथा नेपाल सोसाइटी पोखरा १७ उपशाखाको व्यवस्थापनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी दुईदिने तालिम २०८२ जेष्ठ ३० र ३१ गते सम्पन्न भएको छ । उद्घाटन सत्रमा युनिका फाउन्डेसन दी नेदरल्यान्डका कन्ट्री डाइरेक्टर रमेश पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि पौडेलले विपद्का बेला सरकारी निकाय, गैर सरकारी निकायसँगै रेडक्रस तथा अन्य उद्धार संस्थाबिच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले तालिम आयोजना गरिएको लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिका संयोजक रमा न्यौपाने कोइरालाले उद्घाटन सत्रमा जानकारी गराउनु भएको थियो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले स्थापना कालदेखि नै रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।
तालिमको समापन समारोह कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङकाे प्रमुख अतिथितामा र नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखाका सभापति लक्ष्मी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि गुरुङले विपद् जोखिम न्यूनीकरण र उद्धार कार्य कुनै एक संस्था वा निकायको मात्र नभई सबैको साझा कर्तव्य भएको बताउनुभएको छ । गुरुङले सरकारी निकाय, रेडक्रस तथा अन्य उद्धार संस्थाबिचको समन्वयले मानव जीवनको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दुर्घटना तथा प्राकृतिक विपद्का बेला निःस्वार्थ भावले सेवा प्रदान गर्ने संस्कृतिलाई अझ सुदृढ बनाउनु पर्ने कुरामा जोड दिनुभएको थियो।
दुईदिने तालिममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष तथा तालिम संयोजक मोहनसिंह खड्का र प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिमका क्रममा प्रकोप तथा विपद् परिभाषा शब्दावली र विपत चक्र, अपनाउनुपर्ने सावधानी, जोखिम न्यूनीकरणका उपाय तथा समुदायस्तरमा गर्नुपर्ने पूर्वतयारीका कार्यबारे विस्तृत छलफल गरिएको थियो ।
समापन समारोहमा कास्की शाखाका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, शाखाका मन्त्री सन्तोष अधिकारी लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
जिल्लाका ४८ उपशाखाका सभापति तथा सदस्य गरी ८० जनाको सहभागिता रहेको थियो।
विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी दुईदिने तालिम
Download