पोखरा । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय महामन्त्री आदरणीय ऋषिरमण खनालज्यूले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको अवलोकन भ्रमण गर्नुभएको छ।

अवलोकनका क्रममा महामन्त्री खनाललाई रेडक्रस कास्की जिल्ला शाखाले सञ्चालन गर्दै आएका विभिन्न मानवीय तथा सामुदायिक गतिविधिबारे जानकारी गराइएको थियो। सो अवसरमा शाखामार्फत प्रदान हुँदै आएको रक्तसञ्चार सेवा, रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) को सञ्चालन तथा व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी गतिविधि र विभिन्न परियोजनामार्फत सञ्चालित कार्यक्रमहरूको प्रगतिबारे विस्तृत रूपमा जानकारी प्रस्तुत गरिएको थियो।

कार्यक्रममा रेडक्रस कास्कीले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, रक्तसञ्चार सेवा तथा समुदायमा आधारित मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानका बारेमा समेत छलफल भएको थियो।

अवलोकनका क्रममा महामन्त्री खनालले रेडक्रस कास्कीले मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवाभाव, समर्पण र सक्रियताका साथ मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले संस्थागत गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक मार्गदर्शनसमेत प्रदान गर्नुभयो।

महामन्त्रीज्यूको अवलोकन तथा मार्गदर्शनले रेडक्रस कास्कीका पदाधिकारी, कर्मचारी तथा स्वयंसेवकहरूलाई थप उत्साह र प्रेरणा मिलेको छ। यसले आगामी दिनमा मानवीय सेवा, विपद् व्यवस्थापन तथा समुदायको आवश्यकतामा आधारित कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रेडक्रस कास्की जिल्ला शाखाले महामन्त्री खनालज्यूको अवलोकन, प्रेरणा, हौसला तथा महत्वपूर्ण मार्गदर्शनका लागि हार्दिक आभार व्यक्त गरेको छ।