नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल भद्रकाली माध्यमिक विद्यालयको व्यवस्थापनमा कास्की जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।

"जलवायु परिवर्तन, जैविक विविधता र विपद् न्यूनीकरणमा जुनियर युवा रेडक्रसको भूमिका" शीर्षकमा आयोजित प्रतियोगितामा कास्कीका पाँचवटै स्थानीय तहका ३५ विद्यालयका ३५ जना विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३ का अध्यक्ष किरण बरालले जुनियर रेडक्रसले विद्यार्थीमा नेतृत्व, अनुशासन र स्वयंसेवी भावना विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उपमन्त्री तथा जुनियर युवा संयोजक डिल्लीराम बरालले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै जलवायु परिवर्तन, वातावरण संरक्षण र विपद् न्यूनीकरणमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यार्थीलाई क्रमशः रु. ७,०००, रु. ५,०००, रु. ३,००० र रु. २,००० नगदसहित प्रमाणपत्र आगामी भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा प्रदान गरिने जनाइएको छ।