नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको जुनियर युवा समितिको आयोजना तथा जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालयको व्यवस्थापनमा जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
‘विपद् र सुरक्षित समुदायको निर्माण, प्राकृतिक सौन्दर्य तथा डिजिटल युग र सचेत नागरिक’ विषयमा आयोजित प्रतियोगितामा कास्कीका ५५ वटा जुनियर युवा रेडक्रस सर्कलको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले चित्रकलाले विद्यार्थीको सिर्जनात्मक क्षमता र सामाजिक चेतना विकास गर्ने बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीमा सेवा, सहयोग र स्वयंसेवी भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो। जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले प्रतियोगिताले विद्यार्थीलाई जिम्मेवार नागरिक र भविष्यका स्वयंसेवक बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा कृष बानियाँ प्रथम, एन्जेल नेपाली द्वितीय, युना आले तृतीय तथा संगिता नेपाली र आस्था गुरुङ सान्त्वना भएका छन्। उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्र नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा वितरण गरिने जनाइएको छ।