भाद्न ५ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीले डेंगी रोगको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन समुदाय तथा विद्यालयस्तरमा सञ्चालन गरिएका जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ। महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस स्वयंसेवक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा आयोजित सरोकारवाला समन्वय बैठकमा समुदायको सक्रिय सहभागिताविना डेंगी नियन्त्रण सम्भव नहुनेमा जोड दिइएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले विद्यालय तथा समुदायमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, खोज र नष्ट गर अभियान तथा जनचेतनामूलक गतिविधिले डेंगी नियन्त्रणमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले स्थानीय तह, विद्यालय, स्वयंसेवक र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत समिक्षा गैरेले गण्डकी प्रदेशमा डेंगी संक्रमणको अवस्था, जोखिम र रोकथामका उपायबारे जानकारी गराउँदै वर्षायाममा विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। उहाँले घर तथा कार्यस्थल वरपर पानी जम्न नदिने, लामखुट्टेको लार्भा नष्ट गर्ने र व्यक्तिगत सुरक्षाका उपाय अपनाउने बानीले डेंगी नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
रेडक्रस कास्कीका डेंगी रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले जिल्लाका ५ पालिकाका ४८ उपशाखामार्फत वडा तथा समुदायस्तरमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै विद्यालयमा स्वास्थ्य शिक्षा तथा समुदायमा जनचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, विभिन्न पालिकाका जनस्वास्थ्य अधिकृत तथा रेडक्रस कास्कीका पदाधिकारीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले "साताको एक दिन, एक घण्टा" अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै घर–घरमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्न सके डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरेका थिए।