पोखरा, २ वैशाख ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको १७ औं जिल्ला सभाको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको मंगलबार पदस्थापना गरिएको छ । कार्यक्रममा नवनिर्वाचित सभापति उर्मिला खड्का भण्डारी लगायतका पदाधिकारीलाई रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल र रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले पदस्थापना गराए । सभापति खड्काले कार्यसमितिका सदस्यलाई कलम र डायरी प्रदान गरी पदस्थापना गराइन् ।
रेडक्रस सोसाइटी कास्कीमा कार्यरत कर्मचारीले निर्वाचित पदाधिकारी तथा कार्यसमितिको बधाई तथा सम्मान कार्यक्रम गरेका छन् । कार्यक्रममा कर्मचारीहरुले निवर्तमान सभापति शर्मालाई दोशल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष पाण्डेले अधिवेशनपछि संस्थाले नयाँ जीवन पाउने टिप्पणी गरे । निर्वाचनपछि सबैको ठुलो अपेक्षा हुने चर्चा गर्दै उनले नयाँ मार्ग पहिल्याएर सामुहिक र संस्थागत रुपमा अगाडि बढ्ने कार्यसमितिको प्रतिवद्धता आवश्यक पर्ने बताए । निर्वाचनमा कृष्णप्रसाद तिमिल्सिनालाई १ मतान्तरले हराउँदै उर्मिला खड्का भण्डारी निर्वाचित भइन् । निर्वाचनमा खड्काले १ सय २७ मत ल्याउँदा तिमिल्सिनाले १ सय २६ मत पाएका थिए ।
उनले रेडक्रस कास्कीको मतगणना वल्र्डकपको फाइनल खेल हेरे जस्तो भएको चर्चा गरे । ‘रेडक्रस कास्कीको निर्वाचनमा पहिलो पटक सबै पदमा निर्वाचन भयो,’उनले भने, ‘मतगणनामा सभापतिबीच भएको त्रिब्र प्रतिस्पर्धाले विश्वकपको फाइनल हेरे जस्तो भयो ।’ उनले निर्वाचन उम्मेद्वारबीचको प्रतिस्पर्धाको खेल भएको बताए । उनले १ मत फरक भएपनि निर्वाचन पद्धतीलाई स्वीकार गर्न पर्ने उल्लेख गरे । चुनावी प्रतिस्पर्धामा योग्य र क्षमतावान व्यक्ति बाहिरिएको जानकारी दिदै उनले चुनावी अभियनमा बाहिर परेका व्यक्तिको योग्यता र क्षमताको कदर गरे संस्थालाई फाइदा हुने सुझाव दिए । रेडक्रस इमान र निष्ठाको प्रतिक भएको उल्लेख गर्दै उनले रेडक्रसको नीति विधि र सिद्धान्तलाई जनस्तरमा पु¥याउन सके उत्कृष्ट र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने दाबी गरे ।
रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष ढकालले स्वयंसेवक र कर्मचारीको महत्वपूर्ण योगदानको कारण कास्की शाखा देशकै नमुना शाखा बनेको दाबी गरे । यो निर्वाचनले कास्की रेडक्रसमा नयाँ आयाम थपेको उल्लेख गर्दै उनले पहिलो महिला सभापति बनेको कास्की रेडक्रसले नमुना काम गर्नु पर्ने सुझाव दिए ।
रेडक्रस कास्कीमा सभापति खड्काले ६० वर्षको इतिहासमा सबैको साथ सहयोगले कास्की रेडक्रसले पहिलो पटक महिला सभापति पाउँदा गर्वको महसुस गरेको टिप्पणी गरिन् । १६ वर्ष जिल्लामा काम गरेको अनुभवले परिपक्वताको महसुस गरेको जानकारी दिदै उनले सबै खालका चुनौती आउँदा समेत दृढतापूर्वक उभिएको कारण अन्तिममा घुंडा टेकेर सफल भएको चर्चा गरिन् । उनले आफ्नो कार्यकालमा श्रोत उपलब्ध भए एम्बुलेन्स सेवालाई निशुल्क गर्ने योजना सुनाइन् ।
रेडक्रस कास्कीका निवर्तमान सभापति शर्माले ३१ वर्ष रेडक्रसमा सक्रिय योगदान गरेको बताए । आफ्नो कार्यकालमा सहयोग गर्ने स्वयंसेवक र कर्मचारी प्रति आभार प्रकट गर्दै उनले उचाईमा पुगेको रेडक्रसको प्रतिष्ठालाई जोगाई राख्न सुझाव दिए । नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले रेडक्रस बुझेको कार्यसमिति आएकोले रेडक्रस अभियान सशक्त बन्ने विश्वास व्यक्त गरे । कार्यसमिति र कर्मचारीबीच नङ र मासुको जस्तै सम्बन्ध हुने उल्लेख गर्दै उनले वार्षिक कार्यक्रमलाई कार्यान्वयनमा ध्यान दिने बताए । उनले कर्मचारीको हौसाला बढाए प्रभावकारी काम हुने उल्लेख गरे ।
रेडक्रस कास्कीका लेखा प्रमुख गणेश कोइरालाले नयाँ कार्यसमितिले गरेको नीतिगत निर्णयलाई कर्मचारीले इमान्दारीका साथ कार्यान्वयन गर्ने बताए । ‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ कार्यक्रम भएको हो ।
रेडक्रस कास्कीको नवनिर्वाचित कार्यसमितिको पदस्थापना
Download