नेपाल रेडक्रस सोसाइटी कास्कीले विगतका वर्षदेखि बर्षाको समयमा कास्की जिल्लामा डेङ्गी उच्च जोखिम रहने आकलन गरी पूर्वतयारी अन्तर्गत डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन गरिरहेको छ । कास्की जिल्लाभित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन्न समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरू तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान तीव्रताका साथ अगाडि बढाइएको छ। पछिल्लो समय जलवायु परिवर्तन तथा अव्यवस्थित बस्ती मानिसको चाप वृद्धिका कारण पोखराको तापक्रम वृद्धिसँगै धेरै ठाउँमा खाल्टाखुल्टी र पानी जम्ने बोतल, प्लास्टिक जन्य उपकरण, अत्याधिक रूपमा जताततै खुल्ला ठाउँमा सिसिका बोतल, बिर्कोहरू,सहरी क्षेत्रमा फुलदानी, घरमा फ्रिज पछाडि जम्ने पानी, एसीबाट निस्किएको पानीका कारणले एडिज जातको लामखुट्टेलाई अनुकूल वातावरण भएकाे छ । जसका कारण एडिज जातको लामखुट्टेले बासस्थान वृद्धि गरी मानिसलाई टोक्दाखेरि सहरभरि नै डेङ्गु संक्रमण फैलिरहेको अवस्था छ। साथै मानिसहरूको व्यवहारमा समेत डेङ्गीका लामखुट्टेलाई अनुकुलन रहेको छ । लामा बाउला भएको कपडा नलगाउनु , शरीर ढाकिने कपडा नलगाउनु , दिउँसो सुत्दाखेरि झुल्को प्रयोग नगर्नु , दिनमा लामखुट्टेले के टोक्ला भन्ने सम्झनु जस्ता सामान्य कारणबाट यो संक्रमण दिनदिनै फैलिएको छ। उच्च ज्वरो आउनु , शरीर र जोर्नी दुख्नु, आँखाका गेडी वरिपरि बेसरी दुःखी टाउकोमा अत्याधिक पीडा हुनु , सरीर वरिपरि विमिराहरू देखिनु, केही समयपछि रक्तश्राप समेत भई मानिसको मृत्यु समेत गराउन सक्दछ। यसको विशेष प्रकारको औषधि उपचार नभएका कारण समेत यो उच्च जोखिममा रहेको छ। परीक्षणको क्रममा समेत झ्याली अवस्थामा रहने जसका कारण एन्टिभाइटिक , ब्रोफिन जस्ता औषधि सेवनले मानिसलाई कमजोर बनाउने र थप जोखिम बढाउने समेत गरेको पाइएको छ। यस्तो अवस्थामा अनावश्यक औषधि खानु पनि जोखिम हो। डाक्टरको सल्लाह गरेर प्रत्यक्ष डाक्टरको निगरानीमा समेत औषधि खानुपर्ने हुनसक्छ ।
मिति २०८३ अश्विन ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा कास्की जिल्लाभित्र पाेखरा महानगरपालिका वडा नं ५ टोल विकास संस्था, धारापानी आमा समूह, जनहित महिला समूह, पर्स्याङ ठुलीपोखरी आमा समूह, महिला स्वास्थ्य स्वयंसेविकाकाे सहभागितामा पोखरा ५ धारापानी टोल विकास संस्था सहित पोखरा १८ को तल्लो भेगमा खोज र नष्ट गर अभियान संगै सचेतना कार्यक्रम सम्पन्न भयाे । उक्त कार्यक्रममा आमा समूहका प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य सूर्यप्रसाद तिमल्सिना पालुवा, स्वयंसेवक सुनिता पौडेल, रूपा केसी, हेममाया तामाङ, अवतार रोक्का मगर, मनिला कुँवर, फोकल पर्सन नवराज भण्डारीको उपस्थिति रहेको थियो । समुदायमा खोज र नष्ट गर्ने क्रममा धेरै ठाउँमा लामखुट्टेका लार्भा भेटिएका थिए साथै बिरामी समेत भेटिएको पाइयो। बिरामीलाई सान्त्वना समेत दिईएको थियो।
पोखरामा डेङ्गुको संक्रमण तीव्र रुपमा रहेको छ। अस्पतालको बेडहरूमा समेत बिरामीहरूको सङ्ख्या बढ्दो अवस्थामा छ। साथै यस क्षेत्रमा रक्त परीक्षण बाहिर मेडिकलमा समेत गरिने हुँदा राज्यको संयन्त्रमा नआएका ठ्याक्कै प्रतिवेदनमा यति संख्या छ भन्न नसकिए पनि संख्या भने बढ्दो अवस्थामा रहेको पाइन्छ ।
खोज र नष्ट गर अभियानको क्रममा कास्की शाखाले गरेको सहयोगप्रति पाेखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष विष्णुप्रसाद वरालले धन्यवाद व्यक्त गर्नुभएको थियाे ।