विपद पूर्व तयारी र प्रतिकार्य योजना
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको समन्वयमा रेडक्रस कास्की शाखाको सभाहलमा जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति खड्का भण्डारीको सभापतित्वमा तथा कास्कीका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालकाे प्रमुख सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा आफ्नो भनाइसहित प्रस्तुतिकरण गर्दै सहायक जिल्ला अधिकारी बरालले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि तथ्यमा आधारित तथा समयसापेक्ष योजना आवश्यक रहेको बताउनुभयो । प्रकोप नक्साङ्कन, स्तरीकरण र सरोकारवाला विश्लेषण , तथ्याङ्क सङ्कलनबाट विपत पूर्वतयारी तथा प्रतिकार्य योजनामा समावेश गरी तथ्य परक र यथार्थमा आधारित योजना निर्माण गर्नुपर्ने आवश्यक महसुस भएको बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका विपद् प्रमुख तथा सूचना अधिकारी नवराज भण्डारीकाले यस वर्ष रेडक्रस कास्कीले गरेका गतिविधिहरूको प्रस्तुतिकरण गर्नुभएको थियो साथै शाखाकाे क्षमता विश्लेषण समेत गरिएको हो । जसमा १ सय ३९ प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । जिल्लामा हाल ८ सय जना प्राथमिक उपचार तालिमप्राप्त स्वयम्सेवक, ९ जना जिल्ला विपद् प्रतिकार्य टोली, ९५ जना सामुदायिक विपद् प्रतिकार्य स्वयम्सेवक रहेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक मोहन सिंह खड्काले स्वागत मन्तव्य सँगै जिल्लामा विपदको अवस्था र योजनासँग सम्बन्धित विषयमा आफ्ना भनाइ राख्नुभएको थियो।
कास्की जिल्ला भित्रका सरोकारवाला निकायहरूको सहभागिता सञ्चालन भएको कार्यक्रममा, जिल्ला प्रशासन कार्यालय कास्की , जिल्ला प्रहरी कार्यालय , नेपाली सेना, सशस्त्र प्रहरी बल , कास्की जिल्लाभित्रका पालिकाका विपत फोकल पर्सन रेडक्रस विपद व्यवस्थापन समितिका सदस्यहरू गरी ३५ जनाको सहभागिता थियो।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो।